एमसीसी सम्झौताविरुद्ध हेटौंडामा र्यालीसहितको प्रदर्शन
मकवानपुर । अमेरिकी सहयोग परियोजना मेलिनियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध विभिन्न राजनीति दलहरुले बुधबार हेटौंडामा र्यालीसहितको विरोध प्रदर्शन भएको छ । विप्लप नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुर, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, नेकपा (माले) मकवानपुर, जनता समाजवादी पार्टी मकवानपुरले संयुक्त रुपमा विरोध प्रदर्शन गरेको हो ।
एमसीसी सम्झौताको विरुद्धमा उत्रिएका र्याली वन विज्ञान संस्थान हेटौंडाको प्राङ्गणबाट सुरु भई सीमाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो । र्यालीमा ‘एमसीसी चाहिँदैन देश बेच्न पाइँदैन’, ‘एमसिसी सम्झौता खारेज गर’, ‘गो ब्याक एमसीसी’ लगायतका नाराहरू लगाइएका थिए ।
कोणसभा कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज नयन, उन्मुक्त पुस्ता मकवानपुरका लेखक पुरुषोत्तम आचार्य, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका सचिव एदु कुमार, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुर इन्चार्ज सागर उप्रेती लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


