नगद ६९ लाख ९९ हजार रुपैयाँसहित पक्राउ

तु खबर संवाददाता
२०७८ माघ २६, बुधबार १४:५२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका–१६ बालाजु बाईपासबाट स्रोत नखुलेको नगद ६९ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका वडा नम्वर ३ चाउथे घर भएका २९ वर्षीय नवराज ढुंगाना रहेका छन् ।

उनलाई मंगलबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

यस्तै, प्रहरीले काठमाडौं महानगरपलिका–१७ धोबिचौरस्थित सडकबाट १ थान पँहेलो रंगको धातुको मुर्ति, नगद १ लाख ४ हजार ७ सय ४० रुपैयाँ र २ थान मोबाइलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका–८ घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई गएराति महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।