अवैध लागूऔषधसहित तीन जना पक्राउ

तु खबर संवाददाता
२०७८ माघ २५, मंगलवार १६:०२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले काठमाडौंबाट अवैध लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका–१० कपन आकाशेधाराबाट २२.८ ग्राम ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा कपनका २२ वर्षीय पासाङ छिरिङ शेर्पा, भोजपुर घर भई तार्केश्वर नगरपालिका–११ हिलेटोल बस्ने २४ वर्षीय तेन्जिङ शेर्पा र कञ्चनपुर भिमदत्त नगरपालिका घर भई कपन बस्ने २७ वर्षीय खगेस खत्री रहेका छन् । प्रहरीले पासाङ छिरिङ शेर्पाको साथबाट ६ ग्राम ब्राउनसुगर बरामद गरेको छ । उनको कोठामा तलासी लिँदा सो परिणामको ब्राउनसुगर बरामद भएको जनाइएको छ । उनीहरुलाई गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

उनीमाथि प्रहरीले सोधपुछ गर्दा सो ब्राउनसुगर खगेस खत्रीको भएको बताएका थिए। त्यसको आधारमा प्रहरीले खत्रीलाई पक्राउ गरेको हो। त्यस्तै, उनीसँगै प्रहरीले तेन्जिङलाई पनि गोपीकृष्ण हल नजिकबाट सोमबार पक्राउ गरेको  हो । उनका अनुसार तेन्जिङबाट प्रहरीले १६.८ ग्राम ब्राउन सुगर बरामद गरेको हो । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।