कांग्रेस प्रवक्ताको जिम्मेवारी प्रकाशशरण महतलाई

तु खबर संवाददाता
२०७८ माघ २४, सोमबार ११:०२

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकाशशरण महतलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । सभापति शेरबहादुर देउवाले महतलाई प्रवक्ताको जिम्मेवारी दिएका हुन् । महत १४ औं महाधिवेशनमा सभापति देउवाकै समूहबाट महामन्त्री पदमा उठे पनि पराजित भएका थिए।

त्यसपछि सभापति देउवाले उनलाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। कांग्रेसमा केन्द्रीय सदस्यमध्येबाट प्रवक्ता नियुक्त गर्ने प्रचलन छ । सभापति देउवाले आज महतलाई पार्टी प्रवक्ता नियुक्त गरेको कांग्रेस पार्टी कार्यालय स्रोतले जानकारी दिएको छ । महत यसअघि कांग्रेस सहमहामन्त्री थिए । यसअघि कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा थिए । शर्मा अहिले कांग्रेस महामन्त्री छन् ।