बागमती सरकारको सय दिनः प्रदेशवासीलाई निशुल्क रगत, मल कारखाना खोल्ने तयारी

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार १६:२५
file-photo

मकवानपुर । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको नेतृत्वमा सरकार गठन भएको पहिलो सय दिनमा भएका काम तथा उपलब्धिहरु आज सार्वजनिक गरिएको छ । यो अवधिमा प्रदेशवासीहरुका लागि सरकारले निशुल्क रगत उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

प्रदेश सरकारले यहाँका स्थायी वासिन्दाको उपचारको लागि रक्त सञ्चार सेवा संचालन तथा व्यवस्थापन कार्यविधि २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको मुख्यमन्त्री पाण्डेले बताए । यससंगै प्रदेशवासीले अब ब्लड बैंकबाट रगत लिँदा तिर्नुपर्ने ब्यागको शुल्क प्रदेश सरकारले नै उपलब्ध गराइदिने भएको छ । अर्थात् नागरिकले ब्लड ब्यागको पैसा तिर्नु नपर्ने भएको हो ।

प्रदेशका कृषकहरुलाई सर्वसुलभ रुपमा मल उपलब्ध गराउन रासायनिक मल कारखाना स्थापना गर्ने प्रदेश सरकारले निर्णय गरेको छ । बैदेशिक कम्पनीसंग सहकार्य गर्दै मल कारखाना निर्माण गरिने र त्यसका लागि आवश्यक तयारी भइरहेको मुख्यमन्त्री पाण्डेले बताए । त्यसैगरी किसानलाई गुणस्तरीय र उन्नत बीउ विजनको प्रत्याभुति गराउन बीउ विजन प्रयोगशाला, हेटौंडालाई प्रदेश बीउ विजन गुणस्तर नियन्त्रण केन्द्रको रूपमा कार्य गर्ने गरी व्यवस्था मिलाइएको उनले बताए ।