सभामुखज्यू पदीय गरिमालाई भुलेर प्रतिपक्षको अनुकुलतामा अघि बढ्नुभयो – मुख्यमन्त्री पाण्डे
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको भूमिका समन्वयकारी नभएको भन्दै आलोचना गरेका छन् । आज हेटौंडामा बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पाण्डेले सभामुख सबैको साझा हुन नसकेको आरोप लगाए । प्रदेशसभा सुचारु गर्ने सन्दर्भमा सभामुखले आफ्नो पदीय गरिमालाई भुलेर प्रतिपक्षको अनुकुलतामा चलेको उनले आरोप लगाए । ‘सभामुख सबैको साझा हुनुपर्छ, उहाँलाई सबैको साझा भएको अनुभूति हुने गरी काम गर्न म सुझाव दिन चाहान्छु । ’ उनले भने ।
प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने माग गर्दै प्रदेशसभा अवरुद्ध पार्दै आएको छ । सरकार संचालनको लागि पर्याप्त नीनि नियमसमेत निर्माण भइनसकेको अवस्थामा सदन अवरुद्ध भएको छ । मुख्यमन्त्री पाण्डेले सभामुख श्रेष्ठले त्यसलाई सुचारु गर्ने सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह नगरी प्रतिपक्षलाई सघाएको आरोप लगाए ।
उनले वर्तमान सरकारको काम गर्ने अवधि निकै थोरै भए पनि जनताप्रतिको उत्तरदायित्व धेरै भएकोले सबै मिलेर जनहितका काममा लागि पर्नुपर्ने बताए । उनले चाँडै प्रदेशमा मन्त्रालय विभाजन गर्नुको औचित्य पुष्टि हुने समेत बताए । उनले भने ‘प्रदेश सरकारले मन्त्रालय विभाजन गर्यो भनेर, विभिन्न स्तरमा टिक्का टिप्पणी भइरहेको छ भन्ने सुनिन्छ, मन्त्रालय विभाजन गर्नुको कारण जनताप्रति प्रदेश सरकारको उत्तरदायित्व धेरै भएकाले तीव्र गतिमा काम गर्नको लागि हो । र, त्यसको औचित्य चाँडै पुष्टि हुनेछ ।’
उनले कोरोनाको महामारीबाट जनतालाई जोगाउन खोप कार्यक्रम प्रभावकारी रुपमा संचालन भइरहेको, प्रदेशमा बन्द अवस्थामा रहेका उद्योग तथा कलकारखाना संचालनमा ल्याउने गरी काम भइरहेको, प्रदेशका विभिन्न ठाउँमा रसायनिक मल कारखाना खोल्ने, राष्ट्रिय गौरवको आयोजनालाई पूर्णता दिनेलगायत कार्यमा सक्रिय ढंगबाट काम भइरहेको बताए । उनले अघिल्लो सरकारले गरेको राम्रो कामलाई पनि निरन्तरता दिने भन्दै कुनै शंका उपशंका गरिरहनु आवश्यक नभएको स्पष्ट पारे । बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठको सभाध्यक्षता र प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
