बागमती प्रदेशः संसदीय समितिको सभापतिमा एमालेका सांसद् निर्विरोध हुँदै
मकवानपुर । बागमती प्रदेशसभा अन्तरगत रहेको अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको निर्वाचन प्रक्रिया आज संचालन हुँदैछ । दुवै समितिको सभापति पदमा नेकपा एमालेको तर्फबाट मात्रै उम्मेदवारी दर्ता भएपछि प्रक्रिया पुरा गर्नको लागि मात्रै निर्वाचन कार्यक्रम तय गरिएको हो ।
प्रदेशसभाका सह–प्रवक्ता उमेशराज सोतीका अनुसार अर्थ तथा विकास समितिको निर्वाचन दिउँसो १२ बजे र शिक्षा, स्वास्थ्य तथा कृषि समितिको निर्वाचन दिउँसो २ बजे संचालन हुँदैछ । ‘दुई वटै समितिको सभापति पदका लागि एक–एक जनाको मात्रै उम्मेदवारी परेकोले उहाँहरु निर्विरोध निर्वाचित हुँदै हुनुहुन्छ । निर्वाचन प्रक्रिया पुरा गरेर मात्रै घोषणा गर्ने तयारी छ ।’ उनले भने ।
अर्थ तथा विकास समिति सभापतिमा काठमाडौँका नारायणबहादुर सिलवाल र शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा काठमाडौँकै केशवप्रसाद पोखरेलले उम्मेदवारी दिएका छन् । दुवै समितिमा सत्ता गठबन्धनको तर्फबाट भने उम्मेदवारी परेको छैन । वैशाखदेखि रिक्त रहेको अर्थ तथा विकास समितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ भने शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन गरिनेछ ।
दुवै समितिमा नेकपा एमालेको स्पष्ट बहुमत रहेको छ । दुवै समितिमा एमालेका १२–१२ जना सदस्य नेकपा एमालेबाटै रहेका छन् । अर्थ तथा विकास समितिका सदस्यहरु सन्तबहादुर प्रजा र दीपेन्द्र श्रेष्ठ प्रदेश सरकारको मन्त्री रहको कारण उनीहरु निर्वाचनमा सहभागी हुने छैनन् । अर्थ तथा विकास समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री वनेसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको छ ।
