कांग्रेस केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । दिउँसो ३ बजे बस्ने बैठक भर्चुअल माध्यमबाट बस्ने भएको हो । बैठकमा केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल हुनेछ ।
कार्यसम्पादन समिति गठन गर्ने एकल कार्यसूची अनुसार बैठक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए । कांग्रेसको विधानमा ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको व्यवस्था छ । समितिमा १४ जना पदाधिकारी र पार्टी सभापतिको प्रस्तावमा अन्य ३१ जना सदस्य रहन्छन् ।
समितिमा प्रवक्ता स्वतः सदस्य रहने व्यवस्था छ । यद्यपि कांग्रेसले पार्टी प्रवक्ता तोकिसकेको छैन । कोषाध्यक्ष पद पनि रिक्त छ । पार्टीका आन्तरिक र राष्ट्रिय महत्वका विषयमा तत्काल छलफल गर्नुपर्ने आवश्यकता भएपछि देउवाले कार्यसम्पादन समिति गठन गर्न लागेका हुन् ।
