को हुन् बागमतीबाट राष्ट्रियसभामा निर्वाचित गोमादेवी तिमल्सिना ?
मकवानपुर । बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । बागमतीको रिक्त २ पदमा अन्य दलका उम्मेदवारलाई हराउँदै बुधबार सत्ता गठबन्धनबाट संयुक्त उम्मेदवार बनेका (महिला) मा गोमादेवी तिमल्सिना र (अन्य) मा कृष्णप्रसाद पौडेल विजयी भएका हुन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी र पौडेल नेपाली कांग्रेसमा आवद्ध छन् ।
लामो समय हेटौंडा कपडा कारखानामा मजदुरको रुपमा काम गरेकी तिमल्सिनाको पुरानो मजदुर नेता हुन् । २०१० सालमा गोरखा जिल्लामा जन्मिएकी उनी पिता दुर्गादत्त भट्टराईको प्रेरणाले राजनीतिमा आएको बताउँछिन् । गोमा पितासँग तनहुँको बन्दीपुरबाट चितवनको यज्ञपुरीमा आएकी थिइन् । विवाहपछि पार्टीको कामका लागि उनी मुस्ताङ् पुगिन् । केही अवधि मुक्तिनाथ नजिकै जारेकोटमा पढाउने काम पनि गरिन् ।
२०३७ सालमा तालिमका लागि पोखरा आएपछि पार्टीले उनलाई मकवानपुरको मजदुर क्षेत्रमा काम गर्न खटायो । हेटौंडा कपडा कारखानामा काम गर्दै पार्टीको गतिविधिमा सक्रिय रहँदै आएका उनी विस्तारै शाखा, जिल्ला, अञ्चल हुँदै टेक्टाइल र कपडा मजदुरहरुको केन्द्रीय कमिटीको उपाध्यक्ष बनिन् । त्यसैगरी नेपाल ट्रेड युनियन महासंघको तीन कार्यकाल केन्द्रीय सदस्य रहेकी उनी एमालेको आठौं महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएकी थिइन् । त्यस समयमा माधवकुमार नेपाल समूहबाट प्रतिस्पर्धा गरेकी थिइन् । हाल एमाले विभाजनपछि बनेको नेकपा (एकीकृत समाजवादी) को तिमल्सिना केन्द्रीय सदस्य छिन् ।
तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी थिइन् । त्यस्तै उनले प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कुल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पराजित विपक्षी दल एमालेकी महिलातर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार र प्रदेशतर्फ ४७ मत अर्थात् २ हजार २५६ मतभार प्राप्त गरिन् । उनले कुल ४ हजार ३६२ मतभार प्राप्त गरेकी थिइन् ।
