राष्ट्रियसभा निर्वाचन : हेटौंडामा मतगणना सुरु
मकवानपुर । राष्ट्रियसभा सदस्य पदको निर्वाचनको मतगणना हेटौंडामा सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको सभाहलमा मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए । उनका अनुसार, आजै साँझ ६ बजेसम्ममा मतपरिणाम सार्वजनिक हुनेछ । विहान ९ बजेदेखि सुरु गर्ने भनिएको मतदान बर्षाका कारण तोकिएको समयभन्दा केहीबेर ढिला सुरु भएको थियो । ३ बजेसम्म भएको मतदानमा १०६ जना प्रदेशसभा सदस्य तथा २३७ जनप्रतिनिधि गरी कुल ३४३ जना मतदान प्रक्रियामा सहभागि भएका छन् ।
विकेकशील साझाका ३ जना बागमती प्रदेशसभा सदस्य भने मतदानमा सहभागी भएनन् । निर्वाचनअन्तरगत बागमती प्रदेशबाट २ पदका लागि ६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी पर्नेहरुमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिना, एमालेबाट गोपाल शाक्य, निरकुमारी कुँवर, दर्लामी, नेमकिपाका कृष्णबहादुर तामाङ र गीता काफ्ले रहेका छन् ।
