मकवानपुरगढीमा मनाइयो २५९ औं विजय उत्सव

तु खबर संवाददाता
२०७८ माघ ११, मंगलवार ०९:०३

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २५९ औं विजय उत्सव मनाइएको छ । हरेक वर्ष सोहि दिनको स्मरणमा माघ १० गते मनाउँदै आएको विजयी उत्सव सोमबार कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गढी दरबार परिसरमा नेपाली सेनाले निर्माण गरेको मकवानपुरगढी र नेपाली सेना सम्बन्ध अङ्कित शिलालेख बोर्ड तथा दरबार परिसरमा भण्डोत्तलन गरी मनाइएको हो ।

एतिहासिक मकवानपुरगढी विजय उत्सव मूल समारो समिति मकवानपुरगढीको आयोजनामा भएको विजयी उत्सव कार्यक्रममा मकवानपुर क्षेत्र नम्वर १ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दाहालले मकवानपुगढी दरबारको संरक्षण गर्न आवश्यक बजेटको लागि पहल गरिने बताउँदै यसको संरक्षणको आवश्यकता रहेको बताए । उनले मकवानपुरगढीबाट सुरु भएको विजय अभियानले नेपाल एकीकरणका लागि महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली सेनाका २८ नम्वर गणका प्रमुख सेनानी भाइकाजी थापा, पुरानो गोरख गणका गुणराज अधिकारी, गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्बा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनि, वडाध्यक्षहरु, सदस्यहरु, कार्यपालिका सदस्यहरु, राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।