मकवानपुरगढीमा अनिवार्य तथा निःशुल्क शिक्षा लागू

तु खबर संवाददाता
२०८१ असार १०,आईतवार १०:५१

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकालाई शनिवार अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको छ ।

मकवानपुरगढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालय परिसरमा शनिबार एक कार्यक्रमबीच जिल्ला समन्वय समिति मकवानपुरका (जिसस) प्रमुख ललित घलानले पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको घोषणा गरेका हुन् ।

नेपालको संविधान २०७२ को भाग ३ मौलिक हक अन्तर्गत धारा ३१ र अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन २०७५ बमोजिम पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका घोषणा गरिएको हो ।

सो क्रममा उनले घोषणा गरेर मात्रै पूर्ण नहुने भएकाले भविष्यमा पनि त्यसले निरन्तरता पाउनुपर्नेमा जोड दिए । जिसस प्रमुख घलानले घाउँ घर र टोल टोलमा पुगेर विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयसम्म आउँने वातावरण तयार पार्न र अहिले सरकारले शिक्षा क्षेत्रलाई व्यवस्थित र मजबुद बनाउन महत्वपूर्ण काम गरिरहेको बताए ।

यस्तै, पालिकाले निःशुल्क शिक्षा घोषणाका लागि तोकिएको सबै मापदण्ड पूरा गरेको गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए । अध्यक्ष स्याङ्तानले यसअघि पालिका भित्रका सम्पूर्ण ८ वटा वडाहरुलाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडाहरु घोषणा भैसकेको पनि बताए । स्याङ्तानले विद्यालय जाने उमेरका पालिकाका सबै बालबालिका विद्यालय गएकाले आफ्नो पालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको स्थानीय तह घोेषणा गरिएको स्पष्ट गरे ।

कार्यक्रम गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको हो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई प्रमुख दीनानाथ गौतम, शिक्षा विकास निर्देशानलयका निर्देशक देवनारायण चौधरी, पूर्व गाउँपालिका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष मानकुमारी पाख्रीन, गाउँपालिकाका वडा अध्यक्षहरु, पालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन गङ्तान लामा, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, गाउँपालिकाका शाखा प्रमुखहरु, पत्रकार लगायतकाको सहभागिता रहेको थियो ।