मकवानपुरमा कार्यरत २५ प्रतिशत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

तु खबर संवाददाता
२०७८ माघ १०, सोमबार १६:२२
filr-photo

मकवानपुर । मकवानपुरमा कार्यरत स्वास्थ्यकर्मीमध्ये २५ प्रतिशतभन्दा बढीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले कोरोनाको तेस्रो लहर सुरु भएयता जिल्लामा कार्यरतमध्ये २५ प्रतिशत अर्थात् १ सय २५ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जानकारी गराएका हुन् ।

उनका अनुसार सबैभन्दा बढी हेटौंडा अस्पतालका ५९ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भइसकेको छ । यसैगरी, मनहरी प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीका २२ जना, हेटौंडा उपमहानगरपालिकाभित्रका स्वास्थ्य चौकी र सहरी स्वास्थ्य केन्द्रका १६ जना, कैलाश गाउँपालिकाअन्तर्गत कार्यरत ४ जना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, उनले जिल्लामा कोरोनाविरुद्धको खोपको पहिलो मात्रा लगाउनेको संख्या ८२ प्रतिशत र दोस्रो मात्रा लगाउतेको संख्या ६१ प्रतिशत पुगेको स्वास्थ्य कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको अध्यक्षतामा बसेको उक्त बैठकमा चेपाङ बाहुल्य क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिकामा ३ दिनमा २ हजार ५ सय जनाले खोप लगाएको विवरण गुरागाईंले प्रस्तुत गरेका थिए । दुबै गाउँपालिकामा शुक्रबारदेखि घरदैलोमार्फत खोप अभियान सञ्चालन गरिएको छ ।