राप्रपाले पदाधिकारी बैठक बोलायो
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएको छ । निर्वाचन आयोगले ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ का उल्लेख भएको विधान संशोधनका लागि ७ दिनको समय सिमा दिएलगतै राप्रपाले पदाधिकारी बैठक बोलाएको हो । आयोगले शनिबार संविधान प्रतिकुल ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ समेटिएको विधानलाई मान्यता नदिने जनाउँदै त्यसलाई संसोधन गरेर पुनः पठाउन निर्देशन दिएको थियो ।
‘निर्वाचन आयोगको पत्रलगायतका बारेमा अनौपचारिक छलफल गर्न पदाधिकारी बैठक बोलाइएको छ, १ बजे पछि बस्ने बैठकले आवश्यक निर्णय लिनेछ’ केन्द्रिय सदस्य मोहन श्रेष्ठले भने । गत मंसिरमा भएको महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएसँगै राजनीतिक दल सम्बन्धी ऐन बमोजिम गत १० पुसमा अद्यावधिक गर्नका लागि आयोगलाई महाधिवेशनबाटै पारित नयाँ विधान पठाएको थियो । तर, राप्रपाको नयाँ विधानमा ‘राजसंस्था’ र ‘हिन्दु राज्य’ उल्लेख भएको भन्दै मान्यता नदिने जनाएको छ ।
