कालोबजारी गरेको अभियोगमा हेटौंडाका २ फार्मेसी संचालक पक्राउ

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार ०८:१६

मकवानपुर । मास्कको कालोबजारी गरेको अभियोगमा प्रहरीले औषधि पसलका २ सञ्चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित अन्सारी फार्मेसी संचालक पर्साको वीरगञ्ज निवासी बर्ष ४० को साजित अन्सारी र हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ मा रहेको सक्षम औषधि पसल सञ्चालक महोत्तरी गाउँपालिका वडा नम्वर १ स्थायी घर भएका बर्ष ३७ को बब्लु पाण्डेलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुले तोकिएभन्दा बढी मूल्य लिएर मास्क विक्रि गरेको पाइएपछि प्रहरीले पक्राउ गरी आवश्क कारबाहीको प्रक्रिया अघि बढाएको हो । कोरोना संक्रमणको जोखिमका बेला हेटौंडाका फार्मेसीहरुले स्वास्थ्य सामग्री विक्रिवितरण गर्दा तोकिएभन्दा बढी मूल्य लिने गरेको गु्नासोका आधारमा प्रशासनले अनुगमनलाई तीव्रता दिएको छ । जिल्लावासीलाई स्वास्थ्य सुरक्षा सम्बन्धि सम्पूर्ण मापदण्ड अवलम्वन गर्न आग्रह गरिएको छ भने स्वास्थ्य सामग्री विक्रेताहरुलाई पनि सर्वसाधारणसंग तोकिएको भन्दा बढी मूल्य नलिन आग्रह गरिएको छ ।