अवैध लागूऔषधसहित हेटौंडाबाट ६ जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मास्टरचोकबाट अवैध लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए ।
पक्राउ पर्नेहरुमा सुनसरी घर भई हाल हेटौंड–९ मास्टरचोकस्थित शंकर केसीको घरमा डेरा गरी बस्ने २५ वर्षीय बिशाल बिक, सोही ठाउँ बस्ने २० वर्षीय राज खत्री, २३ वर्षीय रोमन थापा मगर, २१ वर्षीय निरन राई, २२ वर्षीय प्रजेन महर्जन र हेटांैडा–१० बस्ने १८ वर्षीय सुमित कुमार बानियाँ रहेका छन् ।
उनीहरुलाई ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार पक्राउ गरेको हो । विशेष सुचनाको आधारमा पुगेको प्रहरी टोलीले उक्त घरमा बस्ने बिशाल विकको कोठा चेकजाँच गर्दा नाइट्राजेपाम ९७ ट्याब्लेट, नेमाडोल १४८ क्यापसुल, स्टगन १६ ट्याब्लेट, सिओना २ १२ ट्याब्लेट र १६ ग्राम गाँजा बरामद गरेपछि निजहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक सापकोटाले बताए ।
पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको मकवानपुर प्रहरीले जनाएको छ ।