लिभिङ टुगेदरमा बस्ने युवक–युवती मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ पुष २३, शुक्रबार १०:२२
सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौंको कपमा लिभिङ टुगेदर बसेका एक युवक र युवती मृत अवस्थामा फेला परेका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा फेला परेको महानगरीय अपराध महाशाखाकाले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुमा कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीका अनुसार, युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ । केटाको घाँटीमा चक्कुले रेटेको चोट छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुग्दा युवती नग्न अवस्थामा पल्टिरहेकी थिइन् । अमिश अर्धनग्न अवस्थामा पल्टिएको र ढुक्ढुकी भएको पाएपछि प्रहरीले उनलाई चाबहिल चोकस्थित हेल्पिङ ह्याण्ड अस्पतालमा ल्याएका थिए । तर, अस्पतालमा उनको मृत्यु भयो ।

अमिशले प्रेमिकाको हत्या गरेर आफुले घाँटी रेटेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धानमा संलग्न एक जना प्रहरीले जनाएको छ । उनीहरु दुवैजना पब्जीको लतमा थिए । अमिशको ठूली आमाका अनुसार २२ दिन पहिलेदेखि उनीहरु लिभिङ टुगेदरमा बस्न थालेका हुन् । कोठामा रक्सिको बोत्तल, चुरोटका ठुटा र मासु भेटिएको छ ।