धरौटीमा छुटे गोरेका भाई
विराटनगर । साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका पक्राउ परेका रमेश उप्रेतीलाई जिल्ला अदालत मोरङले धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार थुनछेक बहसपछि न्यायाधीश भरत लम्सालको इजलासले उप्रेतीलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।
उनी सुन तस्करी प्रकरणका मुख्य आरोपी चुणमणि उप्रेती गोरेका भाइ हुन् । मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उप्रेती अदालतको आदेशपछि बिहीबार धरौटी बुझाएर छुटेका जिल्ला अदालत मोरङले जनाएको छ ।
यसअघि युएईमा रहेका उप्रेती सुन तस्करी प्रकरणका अभियुक्तहरुले सफाइ पाउने र धरौटीमा छुट्ने भएपछि मंगलबार नेपाल आएका थिए । उनलाई प्रहरीले मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी बुधबार जिल्ला अदालत मोरङमा हाजिर गराएको थियो ।
२०७४ साल फागुन १९ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धान गर्ने क्रममा साढे ३३ किलो सुन तस्करीको विषय बाहिर आएको थियो । अनुसन्धानपछि १९ वैशाख २०७५ मा ७७ जना विरुद्ध ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो ।
७७ जना प्रतिवादीमध्ये पक्राउ परेका गोरेसहित ५६ जना प्रतिवादीले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य हत्या प्रकरणमा भने गोरेसहित ८ जनालाई अदालतले दोषी ठहर गरेको थियो ।
