राष्ट्रियसभा निर्वाचनः बागमतीमा गठबन्धनबाट तिमल्सिना र पौडेलले दिए उम्मेदवारी

तु खबर संवाददाता
२०७८ पुष २०, मंगलवार १४:१९

मकवानपुर । बागमती प्रदेशबाट राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने गरी सत्ता गठबन्धनबाट २ जनाले मनोनयन दर्ता गराएका छन् । प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश हेटौंडाको कार्यालयमा पुगी सत्ता गठबन्धनको तर्फबाट काठमाडौँका कृष्णप्रसाद पौडेल (कांग्रेस) र मकवानपुरकी गोमा तिमल्सिना (नेकपा एकीकृत समाजवादी) ले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ताको क्रममा प्रदेश निर्वाचन कार्यालयमा कांग्रेस सह महामन्त्री महालक्ष्मी उपाध्याय डीना, बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, मुख्यमन्त्री राजेन्द्र पाण्डेसहित बागमती प्रदेशका अधिकाँश मन्त्रीहरुको उपस्थिति रहेको थियो ।
त्यस्तै नेपाल मजदुर किसान पार्टीको तर्फबाट काभ्रेका कृष्णप्रसाद तामाङ र भक्तपुरकी गिता काफ्लेले पनि मनोनयन दर्ता गराएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रिय सभामा बागमती प्रदेशबाट एक जना महिला र अन्य एक जना गरी २ जनाको पद रिक्त हुँदैछ । उक्त रिक्त पदमा आगामी माघ १२ गते हुने निर्वाचनको कार्यक्रम अनुसार आज मंगलबार मनोनयन दर्ताको कार्यक्रम जारी छ । निर्वाचन कार्यक्रम संचालनका लागि गत बिहीबार बिहान एक कार्यक्रमको आयोजना गर्दै हेटौंडा उपमहानगरपालिका वडा नम्बर–५ स्थित प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेशको भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको थियो भने जिल्ला अदालत मकवानपुरका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई निर्वाचन अधिकृतको रुपमा खटाइएको छ ।

श्रेष्ठका अनुसार मनोनयन दर्ताको कार्यक्रम बिहान १० देखि दिउँसो ३ बजेसम्म रहेको छ । त्यस्तै २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने कार्यक्रम छ । यस्तै २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रम तय गरिएको छ । २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ भने सोही दिन उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरिने छ । आगामी माघ १२ गते विहान ९ बजे देखि ३ बजेसम्म मतदान कार्यक्रम संचालन हुनेछ । मतदानका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८ मा रहेको हेटौंडा औद्योगिक व्यवस्थापन लिमिटेडको सभागृहलाई मतदान स्थल तोकिएको छ ।

निर्वाचनमा बागमती प्रदेशमा सत्तारूढ पाँच दलीय गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) बीच प्रतिस्पर्धा हुने भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले एक्लै चुनावी मैदान छ । एमालेले बागमती प्रदेशबाट खुलातर्फ गोपाल शाक्य, महिलातर्फ निरकुमारी कुँवर (निरु) दर्लामी रहेका छन् ।

यता विवेकशील साझा पार्टी भने राष्ट्रियसभा सदस्य पदमा उम्मेदवारी दर्ता गर्ने नगर्ने भन्ने बारे अझै टुङ्गोमा पुग्न सकेको छैन । उम्मेदवारी दर्ता बारे छलफल जारी रहेको तर निर्णय भने आइनसकेको विवेकशिल साझा पार्टी बागमती प्रदेश संसदीय दलका नेता रमेश पौड्यालले जानकारी दिए । राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदाता रहनेछन् । राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४६ मतदाता रहेका छन् ।

कुल ११९ स्थानी तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २३८ जना मध्ये एक जना गाउँपालिका अध्यक्ष निलम्बनमा परेका कारण २३७ जनामात्र मतदाता कायम भएको राष्ट्रियसभा निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । त्यस्तै प्रदेशसभाका कुल ११० जना सदस्य मध्ये एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मात्र मतदाता कायम रहेका कार्यालयले जनाएको छ ।

निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ । जसअनुसार निर्वाचनमा १०९ जना प्रदेशसभा सदस्यको ५ हजार २३२ मतभार रहेको छ भने स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको ४ हजार २६६ मतभार रहेको छ । जसअनुसार बागमती प्रदेशमा कुल ३४६ जना मतदाताको ९ हजार ४९८ मतभार गणना हुनेछ ।