एकीकृत समाजवादीले पनि टुंगो लगायो राष्ट्रियसभाको उम्मेदवार

तु खबर संवाददाता
२०७८ पुष १९, सोमबार १७:०४

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पनि राष्ट्रियसभा सदस्यको उम्मेदवार टुंगो लगाएका छन् । पार्टीको सोमबार दिउँसो बसेको केन्द्रीय सचिवालय बैठकले उम्मेदवारको नाम टुंगो लगाएको पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकले प्रदेश–१ बाट जयन्ती राई (महिला), बागमतीबाट गोमा तिमल्सिना (महिला), लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे (महिला), कर्णालीबाट उदय बोहोरा (खुला) र सुदूरपश्चिमबाट मदनकुमारी (गरिमा) शाह (महिला) लाई उम्मेवारी बनाउने निर्णय गरेको हो । आगामी फागुनदेखि चार वर्षे कार्यकाल पूरा गरेका राष्ट्रियसभाका २० सांसदको पद रिक्त हुँदैछन् । रिक्त हुन लागेको २० सिटमध्ये राष्ट्रपतिबाट मनोनित हुने एक स्थानबाहेक १९ सिटका लागि यही माघ १२ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म ७ वटै प्रदेशमा निर्वाचन हुँदैछ ।