प्रहरीले गोली प्रहार गर्दा पाँच जना घाइते

तु खबर संवाददाता
२०७८ पुष १८, आईतवार १५:०५

जनकपुरधाम । पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको गणेशमान चारनाथ नगरपालिकामा भएको जनमत पार्टीकाको प्रदर्शमा प्रहरीले गोली प्रहार गरेको छ । आज (आइतबार) बिहानैदेखि सडक जाम गरी प्रदर्शन गरेर बसेका पार्टीका कार्यकर्तामाथि गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनसार, सो क्रममा ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो । रबरको गोली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको जनमत पार्टीले जनाएको छ । यस्तै, झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएका छन् ।

बिहानैदेखि बन्द रहेको पूर्वपश्चिम राजमार्ग भने सञ्चालनमा आइसकेको छ । किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा प्रदर्शन गर्दै आएका छन् ।