सामुहिक जबरजस्तीकरणी गरेको आरोपमा ७ जना पक्राउ

तु खबर संवाददाता
२०७८ पुष १४, बुधबार ०९:४९

काठमाडौं । काठमाडौंको नयाँ बसपार्कस्थित गेस्ट हाउसमा एक युवतीलाई सामूहिक जबरजस्तीकरणी गरेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । सुर्खेत घर भएकी ३३ वर्षीया एक युवतीलाई ९ जना युवाहरुले सामुहिक जबरजस्तीकरणी गरेकोमा ७ जनालाई पक्राउ गरेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

गत पुस १२ मा सुर्खेतबाट काठमाडौं आएकी ती युवतीलाई बसपार्कमा भेटेर मुगु घर भएका युवराज बडुवालले गेस्ट हाउसमा लगेका थिए । उनले मुगु छाँयानाथ रारा नगरपालिका घर भएका हिक्मत नेपालीलाई फोन गरेर गेस्ट हाउसमा बोलाए । सो रात दुई जनाले सामूहिक बलात्कार गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

यस्तै, भोलिपल्ट बिहान थप ७ जनाले अर्को गेस्ट हाउसमा लगेर ती युवतीलाई जबरजस्तीकरणी गरेको खुल्न आएको हो । युवती आरोपीहरूले ३ वटा गेस्ट हाउसमा लगेर जबरजस्ती करणी गरेका हुन् । उक्त घटनामाा संलग्न रहेकामध्ये प्रहरीले युवराज बडुवाल, हिक्मत नेपाली, मुगु घर भएका रतन नेपाली, सुरेश सेजुवाल, दीपक नेपाली, शिवहरी बुढा र अर्घाखाँची घर भएका गोपाल कुमार श्रीसलाई पक्राउ गरेको छ ।

उक्त घटनामा संलग्न भनिएका मुगुका हस्त नेपाली र चन्द्र साउद भने हाल फरार छन् । उनीहरुको खोजी भइरहेको महानगरी प्रहरी परिसर काठमाडौंले जनाएको छ । पीडित युवती काम खोज्न सुर्खेतबाट काठमाडौं आएकी थिइन् । उनका पति लामो समयदेखि भारतमा गएर बेपत्ता भएपछि दुई सन्तानको लालनपालनका लागि उनी काठमाडौं आएकी थिइन् ।