देउवाले कसलाई बनाउलान् कांग्रेसको कोषाध्यक्ष ?
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट पदाधिकारी र केन्द्रीय सदस्यसहित १३४ जना निर्वाचित भइसकेका छन् । कांग्रेसको विधानमा थप ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने प्रावधान रहेको छ । त्यस्तै सभापतिले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्षको रुपमा मनोनित गर्ने व्यवस्था विधानमा छ ।
कांग्रेसका १४ सदस्यीय पदाधिकारीमध्ये १३ जना निर्वाचित भइसकेका छन् । सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भए भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भए । त्यस्तै महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । त्यस्तै आठ सहमहामन्त्री पदमा क्लष्टर अनुसार निर्वाचन गरिएको थियो ।
सहमहामन्त्रीमा महिलातर्फ डीना उपाध्यक्ष, आदिवासी जनजातितर्फ भीष्मराज आङदेम्बे, दलितर्फ जीवन परियार, खसआर्यतर्फ किशोरसिंह राठौर विजयी भए । त्यस्तै मधेशीतर्फ महेन्द्र यादव, मुस्लिम तर्फ फरमुल्लाह मन्सुर र थारुतर्फ उमाकान्त चौधरी सहमहामन्त्रीमा निर्वाचित भएका थिए । अब सभापति देउवाले कांग्रेसको कोषाध्यक्षमा कसलाई मनोनित गर्लान् भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।
त्यसका लागि ६ जना नेताको नाम चर्चामा रहेको छ । महाधिवेशनबाट निर्वाचित कार्यसमितिमा सभापति देउवा समूहको वर्चश्व रहेको छ । देउवाले कोषाध्यक्षमा आफूनिकटलाई मनोनित गर्ने निश्चित देखिएको छ । कोषाध्यक्ष पदको लागि पहिलो पटक कांग्रेस केन्द्रीय सदस्य बनेका उद्योगपति विनोद चौधरीदेखि पूर्वकोषाध्यक्ष चित्रलेखा यादवसम्मको नाम चर्चामा छ । सभापति देउवानिकट एक नेताका अनुसार कोषाध्यक्षमा चौधरी, यादव, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, विना विभागीय मन्त्री उमेश श्रेष्ठ र पूर्वसहमहामन्त्री सुनील थापाको नाम पनि चर्चामा छ ।
