२०० मिटरको दुरीमा दुई जनाको शव फेला
धनगढी । कैलालीमा दुई सय मिटरको दुरीमा एक किशोर र एक किशोरीको शव फेला परेको छ । जिल्लाको गौरीगंगा नगरपालिका–३ को जुनेली शिविरमा स्थानीय खुसीराम चौधरीकी १६ वर्षीया छोरी सन्जु र सोही ठाउँका बाँधुराम चौधरीका १९ वर्षीय छोरा मायाराम चौधरीको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनीहरुको शव आइतबार साँझ फेला परेको हो ।
सन्जु आफ्नै घरभित्र दोपट्टाले झुुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् भने त्यसको करीब दुई सय मिटर टाढा रुखमा झुण्डिएको अवस्थामा मायाराम मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । उक्त घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको छ ।
