अवैध लागूऔषधसहित एक जना पक्राउ
काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागुऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । आइतबार बिहान पौने ४ बजे चन्द्रागिरि नगरपालिका वडा नम्बर २ स्थित नागढुंगा चेक पोइन्टबाट लागूऔषध ५०० एम्पुल डाइजापाम, ५०० एम्पुल नुफिन, ५०० एम्पुल फेनरागन र ९०० ट्याब्लेट नाइट्राभेटसहित एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ ।
पक्राउ पर्नेमा पर्सा पकाहमैनपुर गाउँपालिका वडा नम्बर २ बस्ने २० वर्षीय सुनिल साह रहेका छन् । विरगंजबाट काठमाडौं आउँदै गरेको ना ८ ख ४६८० नम्बरको यात्रुबाहक बसमा प्रहरीले चेकजाँच गरेको थियो । सो क्रममा बसमा सवार साहको साथबाट उक्त परिणामको लागूऔषध बरामद भएपनि निजलाई पक्राउ गरेको हो । प्रहरीले पक्राउ परेका साहमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
