कांग्रेस प्रदेश २ को सभापतिमा कृष्ण यादव विजयी

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार ०८:१३

जनकपुरधाम । नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी भएका छन् । आज (शुक्रबार) बिहान सार्वजनिक मत परिणामअनुसार, संस्थापन पक्षका यादव सभापतिमा विजयी भएका हुन् । रौतहटका यादव १ सय ४१ मत अन्तरले प्रदेश सभापतिमा निर्वाचित भएका हुन् । उनले ९९६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत प्राप्त गरेका छन् ।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो । नयाँ नेतृत्व चयनको लागि बिहीबार मात्रै मतदान भएको थियो । अन्य प्रदेशमा भने कांग्रेसको नयाँ नेतृत्व चयन भइसकेको छ ।