प्रदेश २ को नाम मधेस राख्न तीन दलको प्रस्ताव
जनकपुरधाम । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा), नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रदेश २ को नाम मधेश राख्न प्रस्ताव गरेका छन् । आज (बिहिबार) बसेको प्रदेशसभा बैठकमा जसपाका नेता शैलेन्द्रकुमार यादव, नेकपा माओवादी केन्द्रका सांसद भरत साहले मधेस नाम प्रस्ताव गरेका छन् ।
विपक्षी दल लोसपाका सांसद रानी कुमारी तिवारीले पनि मधेस नाममै समर्थन जनाइन् । यस्तै, लोसपा सांसद रानी तिवारीले प्रदेशको नाम मधेस नामाकरण भए शहीदको सपना साकार हुने बताइन् । नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीको भने नयाँ प्रस्ताव थियो । उनले प्रदेशको नाम मधेस भन्दा त्रेतायुगदेखि रहँदै आएको संस्कृति र इतिहासलाई जगेर्ना गर्न मिथिला भोजपुरा राख्नुपर्ने बताए ।
त्यस्तै, कांग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रदेशको नाम मध्य मधेस राख्नुपर्ने बताए । पौराणिक, राजनीतिक, सामाजिक, भौगोलिक दृष्टिकोणलाई हेर्दै मध्य मधेस प्रदेश राख्नुपर्ने उनको भनाइ छ । नेकपा एकीकृत समाजवादी पार्टीका सांसद प्रमोदकुमार यादवले भने प्रदेशको नाम जानकी हुनुपर्ने बताए ।
प्रदेश सभाको बिहीबारको बैठकमा प्रदेशको स्थायी राजधानीको बिषयमा पनि छलफल भएको थियो । छलफलमा भाग लिने अधिकांश सांसदले जनकपुरधामलाई राजधानी बनाउनुपर्नेमा जोड दिए भने कांग्रेस सांसद राजेश्वर साहले वीरगंजलाई राजधानी बनाउनुपर्ने बताए ।
