देशभर चिसो बढ्दो, सतर्कता अपनाउन आग्रह

तु खबर संवाददाता
२०७८ पुष ८, बिहीबार ०९:३७
file-photo

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले तराईका भू–भागहरुमा बिहानको समयमा हुस्सु कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले बिहीबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले बदली हुने क्रममा जारी भएकाले चिसो अझै बढ्न सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेको हो ।

यसैगरी, आज दिउँसो देशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ र प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ । यस्तै, आज राति देशका सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशहरूका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।