मकवानपुरमा ६ हजारभन्दा बढीको मतदाता नामावलीमा नाम दर्ता

तु खबर संवाददाता
२०७८ पुष ८, बिहीबार ०८:०९
file-photo

मकवानपुर । मकवानपुरमा ६ हजार २ सय ७० जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् । जिल्लाको ५ स्थानीय तह, जिल्ला प्रशासन कार्यलय मकवानपुर र बागमती प्रदेश निर्वाचन कार्यलय हेटौंडामा गत मंसिर १७ गतेदेखि सुरु भई पुस २ गतेसम्म पहिलो चरणमा ६ हजार २ सय ७० जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेको प्रदेश निर्वाचन समितिले जनाएको छ ।

प्रदेश निर्वाचन कार्यलय हेटौंडाकी सूचना अधिकारी सम्झना ढकालका अनुसार, पहिलो चरणमा जिल्लाको बकैया गाउँपालिकामा १ हजार ३२१ जना, मनहरीमा १ हजार २४४ जना, मकवानपुरगढीमा १ हजार ९९ जना, इन्द्रसरोबरमा ६ सय ३८ जना र भीमफेदी गाउँपालिकामा ४ सय ५ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् ।

यसैगरी, बागमती प्रदेश निर्वाचन कार्यलयबाट ९ सय ९१ जना, जिल्ला प्रशासन कार्यलयबाट ३ सय ७६ जना र बाह्य जिल्ला दर्ता (ओडिआर) बाट १ सय ९६ जनाले दर्ता गराएको सूचना अधिकारी ढकालले बताईन् । उनले दोस्रो चरण अन्तर्गत पुस ५ बाट हाल जिल्लाको थाहा नगरपालिका, कैलाश गाउँपालिका, राक्सिराङ गाउँपालिका र बागमती गाउँपालिकामा मतदाता नामावली संकलन कार्य भईरहेको बताईन् । ढकालका अनुसार उक्त स्थानीय तहमा माघ ५ गतेसम्म संकलन कार्य जारी रहने छ ।

जिल्ला प्रशासन कार्यलय मकवानपुर र निर्वाचन कार्यलयबाट पनि मतदाता नामावली दर्ता गर्न सकिने अधिकारीले बताईन् । १६ वर्ष उमेर पुरा भएका नेपाली नागरिकहरुले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न सक्छन् । निर्वाचन कार्यलयले मतदाता नामावलीमा नाम समावेश गर्न छुट भएकाहरूलाई स्थानीय तहमै मतदाता नामावलीमा आफ्नो नाम दर्ता गर्न अनुरोध समेत गरेको छ ।