एमसीसी पारित नगर्न कम्युनिष्ट पार्टीहरुको चेतावनी
मकवानपुर । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कम्प्याक्ट (एमसीसी) राष्ट्रहित विपरित भएको भन्दै त्यसलाई नेपालमा कार्यान्वयन नगराउन कम्युनिष्ट पार्टीहरुले आग्रह गरेका छन् । सोमबार ६ वटा कम्युनिष्ट पार्टी र २ वटा मोर्चाले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई एमसीसी पारित नगर्न चेतावनी दिएका हुन् ।
सरकारले जबरजस्ती एमसीसी पास गर्ने दुश्साहस गरिरहेको भन्दै कम्युनिष्ट पार्टीहरुले संयुक्त रुपमा संघर्षको कार्यक्रम घोषणा गरेका छन् । संघर्षको कार्यक्रमलाई भव्य रुपमा सफल पार्न आम जनसमूदायमा अपिलसमेत गरिएको छ । ‘देउवा सरकारले संसद्को आकस्मिक बैठक बोलाएर एमसीसी पारित गराउने रणनीति बनाएपछि हामी ६ कम्युनिष्ट पार्टी र २ मोर्चा संयुक्त आन्दोलनमा छौँ । गत मंसिर २८ गते नै संसद्बाट एमसीसी पारित गराउने देउवा सरकारको योजना, जनताको संघर्षको तागतले असफल भएपछि पौस ६ गते बोलाइएको बैठक संसद् बैठकबाट जुनसुकै अवस्थामा पनि एमसीसी पारित गराई लागू गर्ने दुश्साहसपूर्ण हर्कतमा देउवा सरकार भएकाले त्यसलाई असफल पार्न संघर्षको थप कार्यक्रम घोषणा गरेका छौँ । विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका इन्चार्ज नयन, नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) मकवानपुरका इन्चार्ज सागर, नेपाल कम्युनिष्ट पार्टी (मसाल) मकवानपुरका प्रवक्ता रामहरि धिताल, नेपाल कम्युनिष्ट पार्टी माले मकवानपुरका हरिकृष्ण अधिकारी, नेपाल कम्युनिष्ट पार्टी मकवानपुरका प्रतिनिधि माननाथ तिमल्सिना, बैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल मकवानपुरका सचिव यदुकुमार विश्वकर्मा, देशभक्त जनगणतान्त्रिक मोर्चा मकवानपुरका अध्यक्ष महेश सिग्देल र राष्ट्रिय जनसरोकार मञ्च नेपाल मकवानपुरका संयोगक उमेश गुणीले हस्ताक्षर गरेका छन् ।

