कांग्रेस खुला महिलातर्फ केन्द्रीय सदस्य पदको मतगणना जारी

तु खबर संवाददाता
२०७८ पुष ५, सोमबार ०८:३०
file-photo

काठमाडौँ । नेपाली कांग्रेसको खुलातर्फको ३५ सदस्यको मतगणना सकिएपछि अब खुला महिलातर्फ केन्द्रीय सदस्य पदका उम्मेदवारहरूको मतगणना अघि बढाइएको छ । आइतबार खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित भएसँगै खुला महिलातर्फको मतगणना सुरू गरिएको थियो ।

कांग्रेस निर्वाचन समितिकाअनुसार आइतबार बेलुकी चार सय मत गनिएको थियो। आज बिहान ९ बजेदेखि फेरि मतगणनालाई अघि बढाइने निर्वाचन समितिले जनाएको छ ।
अहिलेसम्म कसले कति मत पाए भन्ने निर्वाचन समितिले सार्वजनिक गरेको छैन। तर डिला संग्रौला पन्त, पुष्पा भुसाल गौतम, आरजु राणा देउवा अगाडि छन् । खुला महिलातर्फ ९ जना निर्वाचित हुने व्यवस्था छ। चुनावी मैदानमा भने ३० जना उत्रिएका थिए।

साथै निर्वाचन समितिले मधेशी कलष्टरतर्फ केन्द्रीय सदस्यको मतगणना पनि सुरू गरेको जनाएको छ। मधेशी कलष्टरतर्फ चार जना निर्वाचित हुने व्यवस्था छ। कांग्रेसमा १६६ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ । खुला र विभिन्न कलष्टरबाट १२१ जना निर्वाचित र ३३ जना केन्द्रीय सदस्य मनोनित हुनेछन् भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एक जना कोषाध्यक्ष मनोनितसहित १४ जना पदाधिकारी रहनेछन् ।