दोहोरो अंकले घट्यो नेप्से, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साताको अन्तिम कारोबार दिन बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभरको तीव्र उतार चढावपछि नेप्से परिसूचक ३७ दशमलव ८७ अंकले घटेर २ हजार ३ सय ७६ दशमलव ७४ अंकमा झरेको छ ।
यस्तै, आज कारोबार रकम पनि घटेको छ । बुधबार ४ अर्बको शेयर कारोबार भएकोमा बिहीबार साढे २ अर्ब पनि पुग्न सकेन । दिनभर भएका ३७ हजार २ सय ३६ कारोबारबाट २२४ कम्पनीका ५३ लाख ७९ हजार ८ सय ६० कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम २ अर्ब ३० करोड १७ लाख ५१ हजार ९ सय ६८ रुपैयाँमा रोकिएको छ ।
नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज म्युचुअल फण्ड समूह बाहेकका सबै समूह राताम्य भएका छन् । सर्वाधिक जीवन बीमा र निर्जीबन बीमा समूह २६३ र २६४ रुपैयाँले घट्न पुगेको छ । दसाथै नेप्से सोही अंकले घटेतापनि प्रभु बैंकको सर्वाधिक कारोबार हुन पुगेको छ । बैंकको आज एकैदिन ९ करोड ४३ लाख ८६ हजार ७१७ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, नेपाल बंगलादेश बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
