राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ । आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि आगामी पुस १० गतेसम्म राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । आयोगले नेपालको संविधानको धारा २७१ बमोजिम आगामी माघ १२ गते सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनको लागि राजनीति दल दर्ता गर्न भनिएको हो ।
पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम छ । यस्तै, पुस २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।
