एमालेले देशलाई अस्थिरतामा धकेल्यो – रामचन्द्र पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले देशलाई अस्थीरतातर्फ धकेल्ने दुष्प्रयास नेकपा एमालेबाट भइरहेको बताएका छन् । समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको र राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलाप एमालेले गरिरहेको भन्दै उनले त्यस विषयमा सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण पनि गराएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा निरन्तर अवरोध गर्दै आएको सन्दर्भमा कांग्रेस नेता पौडेलले सो धारणा बुधबार सामाजिक सन्जालमार्फत् सार्वजनिक गरेका हुन् । उनले लेखेका छन्, ‘६ महिनाको समयमा दुई–दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनौ दिनदेखि संसद अवरोध गरेर विघटन सहि थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुष्प्रयास गर्दैछन् ।’
पौडेल थप लेख्छन्, ‘संसद चलाउँछु र संसदबाटै सबै निकास खोज्छु भनेर आएको सरकारले पनि संसद सुचारू गराएर देशलाई लोकतान्त्रिक गति दिने सार्थक प्रयास नगरी सदनलाई बीचैमा अन्त्य गरी अघि बढ्यो भने ओलीको नियतीका सामु समर्पण गरेको ठहर्नेछ ।’ देशलाई प्रयोगको थलो बनाएर थिलथिलो पार्ने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भनेका छन्, ‘राष्ट्रलाई अनिश्चिततातर्फ धेकेल्ने यी आपत्तीजक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकको ध्यानाकर्षण गर्दछु ।’ उनले समावेशी संसदीय प्रणाली नै सिद्याउन खोजेको देखिएको पनि उल्लेख गरेका छन् ।

