नेपाली कांग्रेसको सभापतिमा देउवा निर्वाचित

तु खबर संवाददाता
२०७८ मंसिर २९, बुधबार ०७:४५
file-photo

काठमाडौँ । नेपाली कांग्रेसको सभापति पदमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिएका हुन् । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाए भने निकटतम प्रतिद्वन्द्वी कोइरालाले १८५५ मत पाएका छन् । ३५ मत भने बदर भएको छ ।

यसअघि भएको पहिलो चरणको मतदानमा सभापति पदका ५ उम्मेदवारमध्ये पनि देउवाले नै सबैभन्दा बढी मत ल्याएका थिए । तर बहुमत भने पुगेन । कुल ४७४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६७९ जनाले पहिलो चरणमा मतदान गरेका थिए । सभापतिमा चुनिन २३४० मत चाहिन्थ्यो । देउवाले २२५८ पाएका थिए भने शेखरले १७०२ । प्रकाशमान सिंहले ३७१ मत पाउँदा विमलेन्द्र निधिले २५० र कल्याण गुरुङले २२ मत पाए । कुनै पनि उम्मेदवारले बहुमत नपाएपछि विधान अनुसार धेरै मत ल्याउने दुई जनाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको हो ।