सिआईबीका सई पक्राउ
काठमाडौँ । मुद्दा मिलाइदिने भन्दै पैसाको मोलमोलाई गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का एक कर्मचारी पक्राउ परेका छन्। सम्पत्ति शुद्धिकरणसम्बन्धी विभागमा परेको मुद्दा मिलाइदिन्छु भन्दै मोलमोलाई गरेको आरोपमा सिआइबीका प्रहरी नायब निरीक्षक (सई) विष्णु ढुङ्गाना पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार नक्साल क्षेत्रबाट उनलाई पक्राउ गरी अनुसन्धानका लागि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको छ । प्रहरीमा परेको जाहेरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको हो । उनीमाथि आपाराधिक लाभ (एक्सटर्सन) कसुर गरेको आरोप छ । मुलुकीअपराध संहिताको परिच्छेद २१ को दफा २५३ मा यससम्बन्धी कानुनी व्यवस्था छ ।
