कांग्रेस सभापतिका लागि दोस्रो चरणको मतदान आजै हुने
काठमाडौँ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत भएको निर्वाचनमा सभापतिमा पदमा कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान हुने भएको छ । दोस्रो चरणमा हुने मतदान आजै गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए तर बुहमत पुर्याउन नसक्दा दोस्रो चरणमा मतदान गर्नु परेको हो ।
कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुन बहुमत अर्थात ५१ प्रतिशत मत ल्याउनुपर्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । यसअनुसार कुनै पनि उम्मेदवार निर्वाचित हुन २३४० मत चाहिन्थ्यो । तर सबैभन्दा धेरै मत ल्याएका देउवाले २२५८ मत मात्र पाए । उनलाई सभापति निर्वाचित हुन ८२ मत पुगेन । दोस्रो चरणमा सबैभन्दा धेरै मत ल्याउने देउवा र दोस्रो हुने डाक्टर शेखर कोइराबीच प्रतिस्पर्धा हुने छ । कोइरालाले १७४९ मत ल्याएका छन् । तेस्रो भएका प्रकाशमान सिंह श्रेष्ठ, चौथो भएका विमलेन्द्र निधि र पाँचौ स्थानका कल्याण गुरुङ भने प्रतिस्पर्धाबाट बाहिरिएका छन् ।
