कुटपिटबाट मकवानपुरका मोक्तानको मृत्यु, चार जना पक्राउ

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार ०८:५२
सांकेतिक तस्वीर

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । आइतबार राति कैलाश गाउँपालिका वडा नम्वर ६ तल्ले पकनीमा स्थानीय ३३ वर्षीय नन्दरे मोक्तान र ३० वर्षीय सिताराम मोक्तानबीच घरायसी कुरामा विवाद भई झडप हुँदा नन्दरे मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार, मृतक नन्दरे र सिताराम दाजुभाई हुन् । प्रहरीले मृतका भाई सितारामसहित चार जनालाई नियन्त्रणमा लिइ घटनाको विषयमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक दासले बताए । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षकको टोली पुगेको र शवको मुचुल्का उठाउने काम भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।