कांग्रेस नेतृत्व चयनका लागि आज निर्वाचन

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार ०८:१९

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १४ औं महाधिवेशन अन्तरगत आज (सोमबार) नयाँ नेतृत्वय चयनको लागि निर्वाचनज हुँदैछ । शुक्रबार सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्यका लागि निर्वाचन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार, मतदान प्रकृया सोमबार बिहान ८ बजेबाट सुरु हुनेछ । निर्वाचनको लागि ८१४ बुथ निर्माण भइरहेको छ । जसअनुसार, भृकुटीमण्डप ५१४, राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । सोमबार ४७ सयभन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्नेछन् ।

नयाँ नेतृत्व चयनको लागि ४९३ जनाले मनोनयन दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, नयाँ नेतृत्वको लागि एक सभापति पदका लागि ६ जना, २ उपसभापति पदका लागि ७ जना, २ महामन्त्री पदका लागि ६ जना, एक सहमहामन्त्री (महिला) को लागि २ जना, एक सहमहामन्त्री (दलित) को लागि ३ जना, एक सहमहामन्त्री (आदिवासी जनजाति) को लागि २ जना, एक सहमहामन्त्री (खसआर्य) को लागि २ जना, एक सहमहामन्त्री (मधेश) का लागि ३ जना, एक सहमहामन्त्री (मुस्लिम) का लागि २ जना, एक सहमहामन्त्री (थारु) को लागि २ जना र एक सहमहामन्त्री (पिछडिएको क्षेत्र) को लागि ३ जनाको उम्मेदवारी परेको छ ।