कांग्रेस महाधिवेशन : आज मनोनयन दर्ता
काठमाडौं । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तरगत आज (शनिबार) मनोनयन दर्ता गराउने कार्यतालिका रहेको छ । पार्टीको नयाँ नेतृत्वसहितको पदाधिकारी र केन्द्रीय कमिटी चयनका लागि आज मनोनय दर्ता गराउने कार्यतालिका रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार, आज बिहान १० बजेदेखि मनोनयन दर्ताका लागि समयतालिका तय भएको छ ।
महाधिवेशन अन्तरगत शुक्रबारबाट काठमाडौंमा उद्घाटन सत्र भएर बन्दसत्र पनि सम्पन्न भइसकेको छ। यसैगरी, मंसिर २६ गते बिहान ११ बजेसम्म मनोनयन पत्र फिर्ता लिन, १२ः १५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न समय तोकिएको र मंसिर २७ गते बिहान ८ बजेदेखि मतदान सुरु हुने निर्वाचन समितिले जनाएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ । यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खसरआर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने विधानको व्यवस्था छ। यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनित गर्ने विधानमा उल्लेख छ ।
