थप २११ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २३, बिहीबार १६:४७

काठमाडौं । नेपालमा थप २११ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ५१ जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना स.क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ८ हजार १८ जनाको पीसीआर परीक्षण गर्दा १९७ जना र १ हजार ४ सय ३३ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १९ हजार २५५ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ५४९ कोरोना संक्रमितको मृत्यु भएको छ भने ८ लाख ५ हजार ९०० जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३२९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार १०५ जना रहेका छन् । जसमध्ये ५ हजार ८३३ जना होम आइसोलेसनमा रहेका छन् भने २७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२१ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै, १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना संक्रमित थपिएका छन् ।