मकवानपुरमा थपिए २ जना कोरोना संक्रमित
मकवानपुर । मकवानपुरमा थप २ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्लो २४ घण्टामा २५ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, सो अवधिमा १८ जनाको पीसीआर र ७ जनाको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका एक जना र थाहानगरपालिकाका एक जना रहेका छन् । यससँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको कूल संख्या १५ हजार ५ सय १० जना पुगेको छ । यस्तै, जिल्लामा पछिल्लो २४ घण्टामा थप ५ जना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा संक्रमण पुष्टि भएका ५ जना आज संक्रमणमुक्त भएका हुन् । यससँगै जिल्लामा हालसम्म संक्रमणमुक्त हुनेको कूल संख्या १५ हजार २ सय ३१ जना पुगेका छन् ।
यस्तै, जिल्लामा हालसम्म संक्रमणका कारण १६६ जनाको मृत्यु भएको छ । जिल्लामा हालसम्म हेटौंडाका १ सय १८ जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढीका ५ जना, बागमतीका ४ जना, कैलाशका २ जना, मनहरीका १४, भीमफेदीका ७, बकैयाका ५ जना र राक्सिराङ गाउँपालिकाका २ जनाको मृत्यु भएको छ । जिल्लाको इन्द्रसरोवर गाउँपालिकामा भने कोरोना संक्रमणका कारण हालसम्म कुनै पनि व्यक्तिको मृत्यु नभएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
