थप ३१५ जनामा कोरोना पुष्टि, २ जनाको मृत्यु

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार १५:५३

काठमाडौं । नेपालमा थप ३१५ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ११ हजार ८ सय १० जनाको पीसीआर र एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, सो अवधिमा ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जनामा र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जनामा गरी ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । तीमध्ये हालसम्म ११ हजार ५४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ जना रहेको मन्त्रालयले जनाएको छ । जसमध्ये ६ हजार १३ जना होम आइसोलेसनमा रहेका छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १२३ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् । यस्तै, १० वर्ष मुनिका १ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका ३० जना कोरोना संक्रमित थपिएका छन् ।