कांग्रेस महाधिवेशनमा २९३ वटा बुथबाट मतदान हुने

तु खबर संवाददाता
२०७८ मंसिर २१, मंगलवार ०८:०९

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मतदानका लागि २ सय ९३ वटा मतदान बुथ राख्ने भएको छ । १४ औं महाधिवेशन प्रचार प्रसार समितिका संयोजक विश्वप्रकाश शर्माले २ सय ९३ वटा मतदान बुथ र १ हजार वटा मतपत्र खसाल्ने बक्स हुने जानकारी दिए ।

यही मंसिर २४ गतेदेखि २७ गतेसम्म संचालन हुन लागेको महाधिवेशनको बन्दसत्र सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने उनको भनाइ छ । मतदानका लागि २९ वटा स्थानबाट मतपत्र वितरण हुने शर्माले बताए । २४ गते दिउसो १ बजे उद्घाटन हुने १४ औँ महाधिवेशनले नेतृत्वसहित केन्द्रीय पदाधिकारी र सदस्य चयन गर्नेछ ।

कांग्रेसको महाधिवेशनमा भाग लिन काठमाडौं जाने महाधिवेशन प्रतिनिधिहरूका लागि भोजन र आवासको प्रबन्ध मिलाएको छ । महाधिवेशनमा खान र बस्नका लागि करिब साढे तीन करोड खर्च लाग्ने अनुमान गरिएको छ । महाधिवेशनमा सहभागी प्रतिनिधिहरूका लागि गाँस र बासको व्यवस्थापन मिलाइसकिएको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक सुरेन्द्रराज पाण्डेले जानकारी दिए ।

यस्तै, नेपाली कांग्रेसले प्रतिनिधिहरूको बाटो खर्च सम्बन्धित व्यक्ति वा जिल्लाबाटै व्यहोर्ने नीति लिएको छ भने महाधिवेशन प्रतिनिधिहरूलाई निश्चित अवधिसम्म आवास र खाना खर्च पार्टीले व्यहोर्ने भएको छ । खानाको मेन्युमा बिहान खाजा र खाना अनि दिउँसो चिया र बेलुकाको खाना महाधिवेशनस्थल भृकुटीमण्डपमै मिलाइने भएको छ । होटलमा चाहिँ प्रतिनिधिले सुख्खा रुपमा सुत्नमात्रै पाउने छन् ।