कमल थापाका भतिजा अभिषेकले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाका भतिजा अभिषेक थापाले राप्रपा केन्द्रीय सदस्यबाट राजीनामा दिने भएका छन् । पार्टीको हालै सम्पन्न एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका उनी राजीनामा दिने तयारी गरेको बताए ।
महाधिवेशनमा आफूहरूमाथि षड्यन्त्र भएकाले नैतिकताका आधारमा बस्न नमिल्ने भएकाले सदस्यबाट राजीनामा दिन लागेको उनले बताए । ‘पार्टी र राजतन्त्रका लागि हाम्रो परिवारले धेरै योगदान गर्यो । तर, जसको लागि योगदान गरियो, उसैले नै षडयन्त्रपूर्वक पराजय गराउन भूमिका खेल्यो । अब पार्टी केन्द्रीय कमिटीमा बस्नु नैतिकताले दिएन । सहकर्मीसँग सल्लाह गरेर केन्द्रीय सदस्यबाट राजीनामा दिने तयारीमा छु’, उनले भने ।
कमल थापा राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएका हुन् । लिङ्देनले १ हजार ८४४ मत प्राप्त गर्दा थापाले भने १ हजार ६१७ मत प्राप्त गरेका थिए । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतका अनुसार, मतगणनामा ४३१ मत बदर भएको थियो ।
