सभापतिका उम्मेदवार प्रधानको अर्का उम्मेदवार बानियाँलाई समर्थन गर्ने घोषणा

तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार ११:५०

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदका उम्मेदवार भीमसेन दास प्रधानले अर्का उम्मेदवार इन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने घोषणा गरेका छन् । हेटौंडामा केहीबेर अघि पत्रकार सम्मेलनको आयोजना गर्दै प्रधानले बानियाँलाई समर्थन गर्ने घोषणा गरेका हुन् । उनले पत्रकार सम्मेलनमा भने, मेरो समर्थन इन्द्र बानियाँलाई छ ।

शनिबार सम्पन्न मतदानपछि सार्वजनिक भएको मत परिणाममा प्रधानले १ सय ९७ मत प्राप्त गरी तेस्रो भएका थिए भने बानियाँले ९ सय ९२ मत प्राप्त गरेका थिए । सभापतिका अर्का दावेदार जगदिश्वर नरसिंह केसीले ८ सय ७७ मत पाई दोस्रो बढी मत ल्याएका थिए । ५१ प्रतिशत मत प्राप्त नगरेपछि बानियाँ सभापतिमा विजयी हुन सकेका थिएनन् ।

निर्वाचन समितिले आज आइतबारका लागि पुनः मतदान गर्ने गरी सूचना जारी गरेको छ । अब प्रधानले बानियाँलाई समर्थन गरेपछि केसी र बानियाँबीच पुनः मतदान हुनेछ । पुनः मतदानको आवश्यक तयारी पूरा भइसकेको समितिले जानकारी दिएको छ । ११ः३० बजेदेखि मतदान सुरु गरिने बताइएको भएपनि अहिलेसम्म मतदान सुरु भएको छैन ।