हेटौंडामा कांग्रेसको अधिवेशन – ७७० मत गनियो, ३९५ मतले बानियाँ अगाडि

जगदिश्वर नरसिंह केसीको २ सय ९६, भीमसेनदास प्रधानको ७१ मत, ८ मत बदर
तु खबर संवाददाता
२०७८ मंसिर १९, आईतवार ०२:४१

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति पदको मत परिणाम आएको छ । अहिले भर्खर प्राप्त परिणाम अनुसार, हालसम्म ७ सय ७० मत गनिएको छ । त्यसमध्ये इन्द्र बानियाँको ३ सय ९५, जगदिश्वर नरसिंह केसीको २ सय ९६ र भीमसेनदास प्रधानको ७१ मत आएको छ । ८ मत बदर भएको छ । यस परिणाम अनुसार पुनः बानियाँको अग्रता कायमै छ । यसअघि  बानियाँले ४ सय ६८ मत गणना हुँदा पनि २ सय २७ मतले लिड गरेका थिए ।

नेपाली कांग्रेस बागमती प्रदेश सभापतिका लागि इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेनदास प्रधान उम्मेदवार छन् । प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानभित्र भएको अधिवेशनमा कांग्रेसका २ हजार ८३ जनाले मतदान गरेका थिए भने ६८ जना मतदाता अनुपस्थित भएका थिए ।

यस अघि हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै केसीले निर्वाचन आफूले जित्ने दावी गरेका थिए भने बानियाँले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले बानियाँको प्यानललाई विजयी गराउन आग्रह गरेका थिए । बागमती प्रदेशको समृद्धिको खाका बानियाँले बनाएको भन्दै नेता महतले त्यसको कार्यान्वयनका लागि बानियाँ र उनको प्यानललाई विजयी बनाउन आग्रह गरेका थिए ।