कांग्रेस बागमती प्रदेश निर्वाचन: ६१ प्रतिशतले गरे मतदान

तु खबर संवाददाता
२०७८ मंसिर १८, शनिबार १९:१४

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शनिवार जारी मतदानमा हालसम्म ६१.६२ प्रतिशत मतदाता मतदान प्रक्रियामा सहभागि भएका छन् । कूल २ हजार १ सय ५० जना मतदाता रहेकोमा १ हजार ३ सय २५ जनाले मतदान गरिसकेको प्रदेश निर्वाचन अधिकृत केशवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

तोकिएभन्दा ६ घण्टा ढिलो गरी अपराह्न ४ बजे सुरु भएको मतदानमा सभापति पदका उम्मेदवारहरु इन्द्रबहादुर बानियाँ, जगदिश्वर नरसिंह केसी र भीमसेन दास प्रधानले मतदान गरिसकेका छन् । त्यस्तै नेता प्रकाशशरण महत र प्रकाशमान सिंह, महालक्ष्मी उपाध्याय डिनाले मतदान गरिसकेका छन् ।

राति १० बजेसम्म मतदानको समय अवधि तोकिएको छ । कांग्रेको प्रदेश अधिवेशनमा प्रदेश अधिवेशन प्रतिनिधि, संघीय अधिवेशन प्रतिनिधि र विभिन्न प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तरगतका क्षेत्रीय सभापति र भातृ संगठन तथा सुवेच्छुक संगठनका सभापतिहरुले मतदानमा प्रक्रियामा सहभागि हुनेछन् ।

मतदान चाँडै सम्पन्न गर्नको लागि १० वटा मतदान केन्द्रको स्थापना गरिएको छ । कम मतदाता भएका ३ वटा जिल्लाको लागि एउटा, काठमाडौँको लागि ३ वटा र अन्य जिल्लाको लागि १/१ वटा मतदान केन्द्र स्थापना गरिएको हो । मतदानस्तल वरपर टाँसिएको उम्मेदवारहरुको प्रचार सामग्री हटाइएको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ । मतदाताहरु लामबद्ध भएर मतदान प्रक्रियामा सहभागि भइरहेका छन् ।