गण्डकी प्रदेश अधिवेशनमा रामचन्द्र पौडेलले गरे मतदान
काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले गण्डकी प्रदेश अधिवेशनमा मतदान गरेका छन् । उनले मतदानस्थल पोखराको प्रदर्शनी केन्द्र पुगेर मतदान गरेका हुन् । मतदानपश्चात उनले मतदान गर्दा आत्मा साक्षी राखेर पार्टी रूपान्तरण गर्न सक्ने उम्मेदवार खोजी–खोजी मतदान गरेको बताएका छन् ।
गण्डकी सभापतिमा बरिष्ठ नेता पौडेल समूहबाट कांग्रेस कास्कीका पूर्वसभापति शुक्रराज शर्माको एउटा प्यानल छ भने सभापति शेरबहादुर देउवाको प्यानलबाट अर्जुन जोशीको नेतृत्वमा अर्को प्यानल छ। मतदान गर्दा उम्मेदवारको नाम कण्ठ नभएकाले दुइटा लिष्ट हेरेर मतदान गरेको पौडेलले बताए। तर उनले कसलाई मतदान गरेको खुलाएनन् । उनले मतदान गोप्य भएकोले अहिले भनिहाल्ने विषय नभएको प्रतिक्रिया दिए ।
अर्को प्रसंगमा पौडेलले केन्द्रीय सभापतिका लागि आफू उम्मेदवार हुने कि नहुने निर्णय भइनसकेको बताए । उनले सो विषयमा काठमाडौँ पुगेर सल्लाह गरेर मात्रै निर्णय लिने बताए । उनले विचार समूहबाट एउटा उम्मेदवार हुने बताए । सभापति लगायत पदाधिकारीका लागि नेताहरूबीच सहमति नभएको प्रसंगमा उनले उम्मेदवारी दर्ता गर्ने बेलासम्म सहमति हुने विश्वास व्यक्त गरे ।
