राप्रपाको महाधिवेशन एक दिन लम्बियो

तु खबर संवाददाता
२०७८ मंसिर १७, शुक्रबार ०७:५९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन एक दिन लम्बिने भएको छ । महाधिवेशन प्रतिनिधिको विवादका कारण निर्वाचन कमिटीले तोकिएको मितिमा चुनाव गराउन नसक्दा महाधिवेशन एक दिन लम्बिने भएको हो । निर्वाचन कमिटीका एक सदस्यका अनुसार, आज (शुक्रबार) बिहान साढे ७ बजेदेखि मनोनयन दर्ता र त्यसपछि दावी विरोध, उम्मेदवारको अन्तिम सूची प्रकाशित लगायतका आवश्यक तयारी गरेर शनिबारमात्रै मतदान कार्यक्रम गर्ने तयारी गरेको छ ।

निर्वाचन समितिले बिहीबार राति ४ हजार ४ सय ७१ जना महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ । त्यसमा थप ५ प्रतिशत प्रतिनिधि मनोनयन अध्यक्षत्रयले गर्न बाँकी नै रहेको उनको भनाइ छ । राप्रपाको नयाँ नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलसहित उम्मेदवारीको घोषणा गरेका छन् । यसअघि राप्रपाको महाधिवेशन बुधबारदेखि राजधानीमा सुरु भएको थियो भने नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न गर्ने कार्यतालिका थियो ।